४ जेष्ठ २०८१, शुक्रबार

शान्तिपूर्ण जनसङ्घर्षको अभियान फागुन ७ देखि


कमल थापा

६ पुस, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि पार्टीले शान्तिपूर्ण देशव्यापी जनसङ्घर्षको अभियान शुरु गर्ने बताउनुभएको छ ।

मिडिया नेपाल कास्की शाखाद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले पार्टीले गर्ने जनसङ्घर्ष कुनै धर्म, सरकार एवं पार्टीका विरुद्धमा नभई जनताको आस्था, विश्वास र पहिचानका लागि भएको बताउनुभयो ।

नेपाली काङ्ग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेको खबर प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष थापाले काङ्ग्रेस महासमिति बैठकले हिन्दूराष्ट्रको पक्षमा साहसिक निर्णय गर्ने अपेक्षा लिइएको बताउनुभयो ।

मुलुकको सामाजिक, साँस्कृतिक क्षेत्रका साथै राजनीतिक दलमा पनि हिन्दूराष्ट्रका पक्षमा झुकाव बढेको उल्लेख गर्दै उहाँले नेपाली काङ्ग्रेसले हिन्दूराष्ट्रको पक्षमा निर्णय गरेमा सहकार्य गरेर अगडि बढ्न सकिनेमा जोड दिनुभयो ।

शान्ति सुरक्षालाई मजबुत बनाउँदै भ्रष्टाचार नियन्त्रण गरी सुशासनको मुद्दालाई शसक्तरूपमा उठाउने बताउँदै अध्यक्ष थापाले सङ्घर्षले सशक्त जनमत एवं जन दबाव सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !