५ आश्विन २०८१, शनिबार

खानेपानीमन्त्री स्वदेश फिर्ता


Bina Magar

१७ असोज, काठमाडौँ । खानेपानीमन्त्री बीना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सम्मेलनमा सहभागी सबै राष्ट्रले सरसफाइको क्षेत्रमा साझा सङ्कल्प बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरसफाइ क्षेत्र सबैका लागि साझा एजेण्डा भएको बताउनुभयो । “अहिले सबै राष्ट्रले सरसफाइ तथा ढलका बारेमा चिन्ता र चासो देखाएका छन् । नेपालले सरसफाइको क्षेत्रमा अरूको भन्दा राम्रै उपलब्धि हासिल गरेको छ”, मन्त्री मगरले भन्नुभयो, “ढलको व्यवस्थापन गर्नु अहिले सबै राष्ट्रका लागि चिन्ताको विषय बनेको देखियो । हामी पनि ढलको समुचित व्यवस्थापनमा जोड दिइरहेका छौँ ।”

मन्त्री मगरले राज्यका सबै निकायले सरसफाइ र ढलको क्षेत्रमा विशेष गम्भीर भएर सोच्नुपर्ने अवस्था आइसकेको बताउनुभयो । सो सम्मेलनमा भाग लिन उहाँ गत शुक्रबार भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो ।

महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चारदिने सम्मेलनमा नेपालका तर्फबाट उहाँले भाग लिनुभएको थियो ।

सम्मेलनमा खानेपानीमन्त्रीसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनीलकुमार दाससमेत सहभागी हुनु हुन्थ्यो । सम्मेलनमा ६० भन्दा बढी देशका खानेपानी तथा सरसफाइमन्त्री सहभागी भएका थिए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !