१४ जेष्ठ २०८१, सोमबार

पार्टी बलियो बनाउन कार्यकर्ता एकताबद्ध हुनुपर्छ : नेत्री यादव


नेपाली काँग्रेस

८ असोज, वीरेन्द्रनगर । पूर्वमन्त्री तथा काङ्ग्रेस नेत्री चित्रलेखा यादवले पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसको विधान, संशोधन, सुझाव सङ्कलनका लागि आज वीरेन्द्रनगरमा भएको प्रदेशस्तरीय भेलामा काङ्ग्रेस नेत्री यादवले पार्टीलाई सुदृढ गर्न आरोप प्रत्यारोप गर्नुभन्दा सकारात्मक सुझाव दिन आग्रह गर्नुभयो ।

नेपाली काङ्ग्रेसलाई बलियो सङ्गठन बनाउन सबैको सुझाव, सल्लाह आवश्यक रहेको उहाँको भनाइ थियो । काङ्ग्रेस नेत्री यादवले सातै प्रदेशबाट मस्यौदामाथि आएका सुझाव सङ्कलन गरिने र दशैँ तिहारको बीचमा केन्द्रीय समिति बैठकमा प्रस्ताव गरी मङ्सिरमा हुने महासमिति भेलामा लैजाने बताउनुभयो । उहाँले अब बन्ने काङ्ग्रेसको विधान सबैभन्दा लोकतान्त्रिक र समावेशी हुने दाबीसमेत गर्नुभयो ।

विधान समितिका सदस्य प्रदीप पौडेलले सबै तहमा एक तिहाइ महिला सहभागिता हुने, केन्द्रीय सदस्य र पदाधिकारीको आकार बढ्ने, प्रदेश समिति पनि अधिकार सम्पन्न बन्ने जिकिर गर्नुभयो । अहिले पनि अन्य दलकोभन्दा काङ्ग्रेसको विधान लोकतान्त्रिक भएको र नयाँ बन्ने विधान पनि थप लोकतान्त्रिक हुने उहाँको भनाइ छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !