७ मंसिर २०८१, शुक्रबार

म प्रधानमन्त्री हुँदा चीन झन खुसी हुन्छः प्रचण्ड


prachanda

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्दा चीन खुसी भएको बताएका छन् । उनले ओली नेतृत्वको सरकारका पालामा चीनसँग भएको सहमति र समझदारी पनि आफ्नो पहलमा भएको दाबी गरेका छन् । आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

“ओलीजी प्रधानमन्त्रीका रुपमा चीन गएर जे जति समझदारी भए, त्यो सबै मेरै पहलमा भएको थियो, “प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै भने, “चिनीयाँ राष्ट्रपति सि जिनपिङसँग कुरा गरेको थाहा छ । माओवादी र प्रचण्डको पहलमा भएको हो उहाँलाई धन्यवाद भनेर प्रधानमन्त्रीसँग भनिएको थियो ।”

उनले सत्ता टिकाउन एमालेले हल्ला चलाएको उल्लेख गर्दै चीनसँग अहिले पनि कुराकानी भइरहेको बताए । “चीन भनेको टाढाको कुरा होइन, अहिले पनि कुरा भइराखेको छ,” प्रचण्डले भने,“प्रचण्डको सरकार बन्दा चीनले नमिठो मान्नुपर्ने कारण छैन, मैले बुझेअनुसार उहाँहरु खुसी हुनुहुन्छ । चिनियाँ धेरै नेताहरुसँग सम्पर्कमा हुने नेता पनि हुँ ।”

प्रचण्डले ओली प्रवृत्तिले काम गर्न साह्रै समस्या भएको गुनासो समेत गरे । “ओलीजीको केही त्यस्तो प्रवृत्ति रहेछ,” प्रचण्डले भने,“राष्ट्रपतिको भ्रमण रद्द भएको कुरासमेत हामीलाई थाहा भएन । दिपकुमार उपाध्यायलाई बोलाउने कुरामा पनि जानकारी दिनुभएन । उहाँको आत्मगत प्रवृत्ति रहेछ । हामी नभएपछि अहिले जे–जे गरे पनि हुन्छ जस्तो मान्नुभएको छ । त्यसले सिंगो एमालेलाई नै घाटा छ । अहिले पनि हामी एमालेसँग दुष्मनी साँध्न चाहँदैनौं ।”

प्रचण्डले नक्कली राष्ट्रवादले नेपाललाई क्षतविक्षत् बनाएको बताए । “नक्कली राष्ट्रवादले नेपाललाई जहिले पनि क्षतविक्षत बनायो,” प्रचण्डले भने,“गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशीताको कुरा गर्दा एलर्जी नै हुने प्रवृत्ति सरकारमा पनि देखा पर्यो । त्यो प्रवृत्ति पुराना राजावादीसँग साइनो छ, लगनगाँठो कसिएको छ । अहिलेलाई यति भनौं । तपाईं पत्रकारहरुले धेरै कुरा बुझ्नुभएको छ ।”

उनले केपी ओलीलाई त्यसबेला प्रधानमन्त्री नबनाएको भए संविधान नबन्ने बताए ।

प्रचण्डले आफू नेतृत्वमा सरकार बन्दा नेकपा माओवादीभित्र कुनै विवाद नरहेको बताए ।
“सहमति गर्ने बेला अन्तिममा सोधेन भन्ने नारायणकाजी श्रेष्ठकोे चासो हो, तर त्यो विवाद होइन,” प्रचण्डले भने,“कार्यालय बैठकले अधिकार दिएकाले यस्तो निर्णय गरेको हुँ ।”

प्रचण्डले नयाँ बन्ने सरकारले चुनाव गराउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले एकैचोटी चुनाव गराउन सक्ने पनि बताए ।
मधेसी मोर्चा अविश्वास प्रस्तावको पक्षमा रहेको धारणा राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !