६ जेष्ठ २०८१, आइतबार

काँग्रेसमा संसद्को बिहीबारको बैठकबारे छलफल


kangres meeting

१८ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा छलफल गरेको छ ।

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न समय नपाएका सम्बन्धमा छलफल भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताउनुभयो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा काँग्रेसले गृहमन्त्री रामबहादुर थापाले बोलेका विषयमा प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि माग गर्दा पनि समय नपाएको भन्दै बैठक बहिष्कार गरेको थियो ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रमुख सचेतक खाँणले भन्नुभयो, “मन्त्रीले वक्तव्य दिइसकेपछि सांसद्ले प्रश्न सोध्न पाउने र मन्त्रीले जवाफ दिनुपर्ने संसद् नियमावलीमा व्यवस्था छ तर सभामुखले समय माग गर्दा पनि हामीलाई समय दिनुभएन ।”

काँग्रेस संसदीय दलको बैठक लम्बिएपछि बैठकबाटै प्रमुख सचेतक खाँणले टेलिफोनमा सभामुख कृृष्णबहादुर महरालाई आजको प्रतिनिधिसभाको बैठकमा काँग्रेस सांसद उपस्थित हुन असमर्थ भएको जानकारी दिनुभएको थियो । सो जानकारीपछि प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगन गरिएको छ ।

काँग्रेसले सभामुखसँग थप छलफल गर्ने उहाँले बताउनुभयो । “सभामुख सबैको साझा बन्नुपर्छ, सभामुखले सत्तापक्ष प्रतिपक्ष सबैलाई मिलाएर बैठक सञ्चालन गर्नुपर्छ”, प्रमुख सचेतक खाँणले भन्नुभयो । बैठकमा काँग्रेसले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव र संकल्प प्रस्ताव लैजाने सम्बन्धमा समेत छलफल भएको थियो । काँग्रेसले संविधानका मौलिक हक कार्यान्वयनका लागि समय सीमाभित्र बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि छलफल गरेको छ । काँग्रेस संसदीय दलको बैठक शनिबार अपराह्न २ बजे पुनःबस्ने बताइएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !