काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार युवा उद्यमी एवं एफसी चितवनका अध्यक्ष सचिन ढकालले आफ्नो नाम फिर्ता लिएका छन् । पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै उनले व्यक्तिगत कारणले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराएका छन्।
शनिबार फेसबुकमा सन्देश लेख्दै ढकालले रास्वपाको समानुपातिक उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका र आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन् ।
उनी रास्वपाको समानुपातिक सूचीमा खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा थिए। उनले समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै नाम फिर्ता लिएको बताएका हुन्।
‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ ढकालले फेसबुकमा लेखेका छन्।
उनले युवाहरुको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति भने आफू निरन्तर प्रतिबद्ध रहने बताएका छन् । रास्वपाको समानुपातिक सूचीमा परेका व्यक्तिका विषयमा पार्टीभित्रै विवाद र असन्तुष्टी पैदा भएको थियो।












