२ फाल्गुन २०८२, शनिबार

रास्वपा बन्यो सेलिब्रेटीको पार्टी : मिस नेपालदेखि गायक-गायिकाहरु परे समानुपातिक सूचीमा


रास्वपा बन्यो सेलिब्रेटीको पार्टी : मिस नेपालदेखि गायक-गायिकाहरु परे समानुपातिक सूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सेलिब्रेटीको पार्टी बनेको छ । रास्वपाले यसपाली थुप्रै कलाकारलाई समानुपातिक सूचीमा समेटेर महत्त्वपूर्ण सन्देश दिएको छ ।

रास्वपाको समानुपातिक सूचीमा गायक, गायिका, अभिनेत्रीदेखि मिस नेपालसम्मका कलाकारहरूलाई उल्लेख्य प्राथमिकता दिएको छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि भने बृहत वैकल्पिक शक्तिको रूपमा अगाडि बढ्ने तयारी गरेको रास्वपाको छ ।

मिस नेपाल-२०१९ विजेता अनुष्का श्रेष्ठ रास्वपाको आदिवासी जनजाति महिलातर्फबाट समानुपातिक सूचीमा समेटिएकी छन् । गायिका त्रिशला गुरुङ पनि रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा परेकी छन् । उनी उज्यालो नेपाल पार्टीको तर्फबाट यो सूचीमा अटाएकी हुन् । गायिका सत्यकला राई रास्वपाबाट समानुपातिक सूचीमा परेकी छन् । रास्वपाले उनलाई आदिवासी जनजाति महिलातर्फबाट समानुपातिक उम्मेदवारको सूचीमा समेटेको हो ।

लोकप्रिय गायक, सङ्गीतकार तथा अभिनेता प्रकाश सपुत रास्वपाको समानुपातिक उम्मेदवार बनेका छन् । दलित पुरुष क्लस्टरबाट समानुपातिक बन्दसूचीको दोस्रो नम्बरमा सपुतको नाम छ । लोकप्रिय प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा छिन् । उनी दलित महिला क्लस्टरबाट उम्मेदवार बनेकी हुन् ।

अभिनेता तथा निर्माता आसिफ शाह पनि रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा परेका छन् । उनी मुस्लिम क्लस्टरबाट यो सूचीमा अटाएका हुन् । विघटित प्रतिनिधिसभामा आसिफका भाइ तथा फिल्म निर्देशक असिम शाह रास्वपाबाट समानुपातिक सांसद थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु