२ फाल्गुन २०८२, शनिबार

ओली, देउवा र प्रचण्डलाई प्रधानमन्त्री कार्कीले भनिन्- यो घर तपाईंहरूकै हो


यो घर तपाईंहरूकै हो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो दिएकी छिन् । आज शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दै उनले चुनावी निम्तो दिएकी हुन् ।

छलफलको सुरूवातमा प्रधानमन्त्री कार्कीले आफ्नो निमन्त्रणा स्वीकार गरी उपस्थित भएकामा तीन नेताहरूलाई धन्यवाद ज्ञापन गरिन् । प्रधानमन्त्री कार्कीले सरकारले राष्ट्रपतिबाट प्राप्त कार्यादेश अनुसार चुनाव गराउनका लागि सरकारले तयारी तीव्र पारिरहेको बताइन्।

‘यो घर तपाईँहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं,’ उनले शीर्ष नेताहरूसँग भनिन्।

प्रधानमन्त्री कार्कीले चुनावमा पूरै होमिनका लागि रक्षाबाहेक आफूसँग राखेका अरू मन्त्रालय पनि अरू मन्त्रीलाई जिम्मा लगाइसकिएको बताइन्। त्यसकारण निर्वाचनलाई सफल पार्नु पर्ने विषयमा छलफल गर्नका लागि आफूले नेताहरूलाई बोलाएको प्रधानमन्त्री कार्कीले बताइन्।

मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु। त्यस्तो वातावरण बनिरहेको देख्छु। यो स्वागतयोग्य छ,’ प्रधानमन्त्री कार्कीले दलका नेताहरुलाई भनिन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !