१ फाल्गुन २०८२, शुक्रबार

स्वाधीनताको कुरा गर्दा एमालेमाथि ‘कलर रिभोलुसन’ भएको ओलीको जिकिर


केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाधीनता रक्षाको कुरा गर्दा एमालेमाथि ‘कलर रिभोलुसन’ भएको जिकिर गरेका छन् । भक्तपुरको सल्लाघारीमा पार्टीको ११औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले एमालेले स्वतन्त्र र सार्वभौम राष्ट्रको अभ्यास गर्दा आक्रमण हुने गरेको बताएका हुन् ।

ओलीले एमालेलाई कमजोर बनाउँदा नेपालीको सार्वभौम राष्ट्रियता कमजोर हुने ठानेर कसैले हिसाबकिताब गरिरहेको उनको जिकिर छ । तर त्यो विरोधी शक्ति स्वदेशी वा विदेशी भन्ने प्रष्ट नखुलाए पनि ओलीले दुवैतर्फ संकेत गरे । हिंसा वा युद्धलाई समाज परिवर्तनको साधन बनाउन हुँदैन भन्ने पक्षमा आफूहरू रहेको बताए । उनले जनताको मन जितेर शान्तिपूर्ण ढंगले पनि समाज बदल्न सकिन्छ भन्दा प्रहार हुने गरेको बताए ।

सशस्त्र द्वन्द्व, संक्रमणकाल र भूकम्पजस्ता चुनौतीका बीच पनि मुलुकले प्रगति गरिरहेको दाबी गर्दै ओलीले कमजोरी पनि महसुस गर्ने गरेको बताए । ओलीले संविधान जारी गर्दा अडान लिँदा पनि तीव्र प्रतिक्रिया जनाउने समूहलाई मन नपरेको बताए । पारबहन सम्झौता, उत्तर–दक्षिण जोड्ने कनेक्टिभिटी, सीमा रक्षा, आफ्नै भूभागमाथिको दाबी गर्दा आफ्नो पार्टी प्रहारको निशाना बनेको बताए ।

ओलीले देशको हितमा काम गर्दा प्रमुख दलहरूमाथि आक्रमण भएको बताएका छन् । उनले जहानियाँ शासनदेखि निरंकुशता अन्त्य गरेका दलहरूमाथि विभिन्न नाममा आक्रमण भइरहेको बताए । ‘जेनजी’ आन्दोलनका माग स्वाभाविक भए पनि त्योसको प्रयोग पनि नेपालको स्वाधीनता र सार्वभौमसत्ता कमजोर पार्नमा भएको उनले तर्क गरे ।

उनले लोकतन्त्रलाई राजनीतिको घेराभित्र सीमित नगर्ने ‘वशुदैव कटुम्बकम’को नीति लिनेहरूमाथि नै राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरूले प्रहार गरेको बताए । उनले प्रमुख दल र एमालेमाथिको प्रहार अन्तर्राष्ट्रिय रूपमा पनि भइरहेको बताए । विश्वकै हित चाहनेमाथिको आक्रमण स्वभाविक नभएको उनको भनाइ थियो ।

उनले अनिश्चितता र अस्थिरता जतिसुकै लम्ब्याउने प्रयास गरे पनि लोकतन्त्र र स्वतन्त्रता अविभाज्य रहेको बताए । उनले विभिन्न नाममा देशको हित बोक्न सक्ने दलहरूमाथि आक्रमण भइरहेको बताए ।

नले राष्ट्रलाई समृद्ध बनाउने नीति लिँदा अन्तर्राष्ट्रिय शक्ति राष्ट्रले प्रहार गरेको बताए । स्वाभिमानका विषय उठाउँदा छिमेकीले आधक्रमण गरेको उनको टिप्पणी थियो । उनले कांग्रेस र एमालेमाथिको आक्रमणलाई फलेको आँपलाई हानिने झटारोको रूपमा प्रस्तुत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !