काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा लगाइदिएर सम्मान गरेकी हुन् ।
मास्केले भनिन् ‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नुभयो, त्यहाँ साहसिक काम गर्नुभयो,’ मास्केले भनिन्, ‘यस्तो मान्छे देशको प्रधानमन्त्री हुँदा राम्रो हुन्थ्यो भन्ने लागेको थियो । आज त्यो दिन देख्न पाइयो । एकदम खुसी र भरोसा लागेको छ । पहिलाजस्तै नडराइकन काम गर्नुहोला ।’
काठमाडौंको ताहाचल निवासी मास्के विगत २७ वर्षदेखि दिदीबहिनी नभएका र भएर पनि भाइटीकाका दिन भेट्न नभएका दाजुभाइहरूको निधार खाली नहोस् भनेर टीका लगाइदिएका कारण परिचित छिन् ।
उनले वीर अस्पतालमा बेवारिसे तथा विपन्न बिरामी र तिनका कुरुवाका लागि नि:शुल्क खानपिनको व्यवस्था गरिदिएर पनि समाजमा योगदान गरेकी थिइन् ।
त्यस्तै काष्ठमण्डपमा सामूहिक व्रतबन्धको व्यवस्थापन पनि उनले गर्दै आएकी छिन् । यी सबै काम उनले आफ्नै निजी खर्चमा गर्दै आएको पनि प्रधानमन्त्रीसमक्ष जानकारी गराराइन् ।
‘मैले कसैसँग केही अपेक्षा राखेर यी काम गर्दिनँ,’ ८२ वर्षीया मास्केले भनिन्, ‘जे सक्छु, आफ्नै खर्चमा गर्छु । अहिले छोरा कमाउने भएपछि सोचेको काम गर्न थप सजिलो भएको छ ।’
मास्केले सरकारबाट पनि कुनै अपेक्षा नराखेको प्रतिक्रिया दिइन् ।
‘मलाई केही चाहिएको छैन । हामीले आ–आफ्नो ठाउँबाट सकारात्मक काम गर्दै जानुपर्छ। एकले अर्कालाई सघाउनुपर्छ । सबैले अरूको सेवा गरून्,’ उनले भनिन्, ‘सेवाको भावना राखेर काम गरून् । सरकारसँग हामीले अपेक्षा राख्ने होइन, सरकारलाई हामीले सघाउनुपर्छ । अनि सरकारबाट देशको कल्याण हुन सक्छ ।’
प्रधानमन्त्री कार्की देशकै पहिलो महिला प्रधानमन्त्री बनेको सुनेकै दिनदेखि निकै खुसी र भरोसा जागेको पनि मास्केले बताइन् ।
‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नुभयो, त्यहाँ साहसिक काम गर्नुभयो,’ मास्केले भनिन्, ‘यस्तो मान्छे देशको प्रधानमन्त्री हुँदा राम्रो हुन्थ्यो भन्ने लागेको थियो । आज त्यो दिन देख्न पाइयो । एकदम खुसी र भरोसा लागेको छ । पहिलाजस्तै नडराइकन काम गर्नुहोला ।’
अफ्ठ्यारो परिस्थितिमा देश सम्हाल्न आएको भन्दै प्रधानमन्त्री कार्कीप्रति मास्केले कृतज्ञता पनि व्यक्त गरिन् ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा गौतम, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको पनि उपस्थिति थियो ।













