काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का नेता ऐन महर रिहा भएका छन् । महरलाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छाडेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले जानकारी दिए ।
एमालेका केन्द्रीय सदस्य ऐन महरलाई आज बुधबार नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले महरलाई काठमाडौँको भोटाहिटीबाट पक्राउ गरेको थियो ।विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
ब्युरोका एसपी दीपकराज अवस्थीले पीडितले हुलाकमार्फत दिएको निवेदनका आधारमा महरलाई पक्राउ गरिएको थियो । उनीमाथि एक महिलाको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालबाट अभिव्यक्ति दिएको आरोप लागेको छ ।
महरविरुद्ध यसअघि पनि एक महिलाले बलात्कृत भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । बझाङका स्थायी बासिन्दा महर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष हुँदै पार्टीकाे राजनीतिमा आएका हुन् ।
गत प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए ।












