काठमाडाैं । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । आज बुधबार नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले महरलाई काठमाडौँको भोटाहिटीबाट पक्राउ गरेको हो ।
विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । ब्युरोका एसपी दीपकराज अवस्थीले पीडितले हुलाकमार्फत दिएको निवेदनका आधारमा महरलाई पक्राउ जानकारी दिए ।
महरलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । उनीमाथि एक महिलाको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालबाट अभिव्यक्ति दिएको आरोप लागेको छ ।
महरविरुद्ध यसअघि पनि एक महिलाले बलात्कृत भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । बझाङका स्थायी बासिन्दा महर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष हुँदै पार्टीकाे राजनीतिमा आएका हुन् ।
गत प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए ।












