काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उपसभामुख इन्दिरा राना मगर जोडिएको बालबालिकाको अवैध ओसारपसार विषयको अनुसन्धान शुरुवात गरेको छ ।
उपसभामुख बन्नुभन्दा पहिल्यै मगरको संस्थामा पठाइएका बालबालिकाबारे प्रश्न उठेपछि प्रहरीले समेत अनुसन्धान थालेको हो । राना प्रमुख रहेको तत्कालीन प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्थामार्फत केही बालबालिका अवैध रूपमा विदेशी नागरिकलाई धर्मपुत्रका रूपमा दिएको खुलेपछि सीआईबीले चासो राखेको हो ।
सीआईबी प्रमुख एआईजी चन्द्रकुवेर खापुङले विभिन्न माध्यममार्फत बालबालिको अवैध ओसारपसारबारे सार्वजनिक भएपछि चासो राखेको बताए । गत भदौ ५ गते प्रतिनिधिसभाको बैठकमा एमाले सांसद तथा पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा उपसभामुख रानासम्वद्ध संस्था पिए नेपालको संलग्नता रहेको दाबी गरेका थिए ।
सत्तारुढ दलले काठमाडौंस्थित अमेरिकी दूतावासलाई भिसाको मिति माग्दै पत्र लेखेको विषयलाई लिएर उपसभामुख रानालाई हटाउने तयारी गरिरहेका बेला सार्वजनिक भएको विषयमा प्रहरीले चासो राखेको हो ।












