२ फाल्गुन २०८२, शनिबार

५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय असार १८ गते गर्ने


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक निकायका ५२ पदमा नियुक्ति पाएका ५२ जना पदाधिकारीबारे निर्णय आगामी असार १८ गते गर्ने भएको छ । आज निर्णय सुनाउने तयारी गरेपनि निर्णय सुनाउने मिति आगामी असार १८ गतेका लागि सरेको हो ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी बुधबार दिउँसो छलफलमा जुटेका थिए । तर यसबारे छलफल नसकिएपछि सर्वोच्चले निर्णय सुनाउने मिति सारेको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा अध्यादेशमार्फत ऐन संशोधन गरी नियुक्ति गरेकोविरूद्ध रिट दायर भएको थियो।

ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर त्यसैबमोजिम पहिलो पटक २०७७ मंसिर ३० सिफारिस गरी माघ २१ गते ३२ जना नियुक्त गरेको थियो। दोस्रो पटक २०७८ वैशाखमा सिफारिस गरी असार १० मा २० गरी ५२ संवैधानिक पदाधिकारी नियुक्ति सिफारिस गरिएको थियो।

अध्यादेश र नियुक्तिविरूद्ध वरिष्ठ अधिवक्ताहरू ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी लगायतले छुट्टाछुट्टै रिट दिएका थिए। रिट दायर भएको लामो समयपछि अहिले फैसला आउन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !