२ फाल्गुन २०८२, शनिबार

वामपन्थी नेता प्रदीप नेपालको निधन


प्रदीप नेपाल

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । उनको आज मंगलबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा जटिल समस्या आएपछि नेता नेपाललाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । अस्पतालले निधनको घोषणा गरेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

छातीमा गम्भीर संक्रमण भएको र गम्भीर अवस्थामा नेता नेपाल केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो सोमबार आईसीयूमा राखिएको थियो ।

पूर्व शिक्षामन्त्री तथा नेकपा (एमाले) का नेता नेपाल पार्किन्सन रोगबाट पीडित थिए । नेपाल नेकपा (एमाले)का पूर्व स्थायी कमिटी सदस्य समेत थिए । उनी चर्चित नख्खु जेल ब्रेक काण्डका एक पात्र हुन् ।

लेखक, साहित्यकार समेत रहेका नेपाल पछिल्लो समय भने राजनीतिबाट निष्क्रिय थिए । उनले सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गर्दथे । उनले देउमाइको किनारमा (उपन्यास) लगायतका उपन्यासहरू लेखेका छन् ।

एमाले महासचिव मदन भण्डारीबारे नेपालले ‘बर्बरिक’ उपन्यास लेखेका छन् । त्यस्तै ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’, ‘बाघमारेको लालसलाम’, ‘देशको खोजी’, ‘पाइला छाडेर अस्ताएको घाम’, ‘आमाको मन’, ‘सञ्जय थापाका कथाहरू’, ‘जननी जन्मभूमिश्च’, ‘फेवाको सुस्केरा’ लगायतका कृति प्रकाशित छन् ।

२०५१ मा तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सञ्चार, सूचना तथा प्रविधिमन्त्री बनेका थिए । त्यसपछि २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए । यसैगरी उनले जलस्रोत मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।

नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गरेका थिए । एमाले मुखपत्र ‘नवयुग’ को संस्थापक प्रधान सम्पादक रहेका उनले दृष्टि, प्रकाश र छलफल साप्ताहिकको सम्पादकको रुपमा पनि काम गरेका थिए ।

नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय थिए । नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु