काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन् । सचिव आचार्यले पदीय आचरण विपरीत काम गरेको भन्दै राज्यमन्त्री तामाङले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
जलस्रोत तथा सिंचाइ विभाग जावलाखेल ललितपुरले गत चैत २५ गते आयोजना गरेको कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित भएकाले राज्यमन्त्री तामाङ प्रमुख अतिथिको रूपमा सहभागी कार्यक्रममा मञ्चमा आसनग्रहणका लागि बोलाउँदा आचार्य बेवास्था गर्दै बाहिरिएको आरोप लगाइएको छ ।
कार्यक्रम बहिष्कार गरेर अनुशासन विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधिएको मन्त्री तामाङले बताएका छन् । सचिव आचार्यलाई निजामती सेवा २०५९, को दफा ५९ बमोजिम कारबाही किन गर्ने भन्दै आचार्यलाई स्पष्टीकरण सोधिएको हो ।












