काठमाडौं । भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं ल्याइँदैछ । प्रसाईंलाई झापाबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने भएको हो ।
प्रहरीका अनुसार प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाडौं ल्याउन लागिएको हो । काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गराएर फरार भएका प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिजो चैत २८ गते बिहीबार भारतको असाम प्रहरीको सम्पर्कमा पुगेका प्रसाईंलाई आज चैत २९ गते शुक्रबार झापा हुँदै काठमाडौं ल्याउन लागिएको हो । प्रसाईं झापा आइपुगेको र काठमाडौं पठाउने तयारी भएको झापा प्रहरी स्रोतले जानकारी दिएको हो ।
गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका ‘कमान्डर’ समेत रहेका प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो भने प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।












