काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आइतबार मात्र अदालतमा उपस्थित हुने भएका छन् ।
रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराका अनुसार सभापति लामिछाने कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौँतर्फ जाने क्रममा रहेका सामाजिक संजाल एक्समार्फत जानकारी दिएका हुन् ।
बोहराका अनुसार सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने बताए । लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा भएका कारण शुक्रबार हाजिर हुने भनिएतापनि उनी आइतबार मात्र काठमाडौं अदालतमा हाजिर हुने भएका हुन् ।
हिजो बिहीबार साँझ रिहा भएका लामिछाने आज शुक्रबार बेलुकी मात्र काठमाडौँ आइपुग्ने भएकोले आज उनी अदालतमा उपस्थिति नहुने भएका हुन् । अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।
अदालतको आदेशानुसार रू ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए । उनीसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।
न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाईँलाई रू ३७ लाख, मीना गुरूङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरूङलाई रू पाँच लाख र कृष्णबहादुर गुरूङलाई रू एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।