२६ पुस २०८१, शुक्रबार

रास्वपा सभापति लामिछाने आइतबार मात्र अदालतमा उपस्थित हुने


रवि लामिछाने फाइल फोटो

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आइतबार मात्र अदालतमा उपस्थित हुने भएका छन् ।

रास्वपाका सभापति लामिछाने आज शुक्रबार काठमाडौं जिल्ला अदालतमा हाजिर नहुने भएका हुन् । लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा भएका कारण शुक्रबार हाजिर हुने तयारी भएपनि उनी आइतबार मात्र काठमाडौं अदालतमा हाजिर हुने लामिछाने निकट स्रोतले बताएको छ ।

हिजो बिहीबार साँझ रिहा भएका लामिछाने काठमाडौँ फर्केका छैनन् । लामिछाने गएराति पोखरामा नै बसेको उनीनिकट स्रोतले बताएको छ । लामिछाने आज शुक्रबार मात्र काठमाडौँ आइपुग्ने भएकोले आज उनी अदालतमा उपस्थिति नहुने भएका हुन् ।

अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेशानुसार रू ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए ।

उनीसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाईँलाई रू ३७ लाख, मीना गुरूङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरूङलाई रू पाँच लाख र कृष्णबहादुर गुरूङलाई रू एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !