२० पुस २०८१, शनिबार

सभापति देउवासँग कुनै मतभेद छैन, गगन मसंगै छन् : शेखर कोइराला


डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै मतभेद नरहेको दाबी गरेका छन् ।

प्रेस युनियन धनुषाले आज आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कोइरालाले सभापति देउवासँगै आफ्नो पूर्ण सहकार्य एवं समन्वय भएको बताउँदै पार्टीमा कुनै प्रकारको विवाद र मतभेद नभएको स्पष्ट पारेका हुन् ।

कोइरालाले पार्टीभित्र भएका बहसलाई सञ्चारमाध्यमले बढाइचढाई लेख्ने गरेको आरोप पनि लगाए । कोइरालाले गगन थापा आफूहरूसँग नै रहेको भन्दै आगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने विषयमा कुनै कुराकानी नभएको बताए ।

कोइरालाले गगन आहरूसँग नै रहेको जिकिर पनि गरेका हुन् । पार्टीमा १५ वर्षसम्म महाधिवेशन प्रतिनिधि भएका कुनै पनि नेता सभापति पदका लागि उम्मेदवार बन्न सक्ने वैधानिक व्यवस्था रहेको उनले बताए ।

उनले गगन थापा र पूर्वराजाबीच भेटवार्ता भएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । त्यस्तै, कोइरालाले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबीच गठबन्धन बनाएर सरकार बनाउनुपरेको बताए ।

संविधानलाई सुधार गर्न पनि दुई दल मिल्नुपरेको उनको भनाइ छ । संविधान सुधारका लागि दुई दलबीच गृहकार्य सुरु भइसकेको भन्दै कोइरालाले अन्य दलसँग मिलेर संविधान सुधार गर्नुपर्ने धारणा राखे ।

उनले अहिलेको गठबन्धन सरकार दुई पार्टीको सहमतिको आधारमा बनेकाले अबको डेढ वर्षपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने र कांग्रेसको नेतृत्वमा २०८४ को निर्वाचन हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !