मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार बनेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन सरकार गठन भएकाले यसको विकल्प नहरेको बताएका हुन् ।
नेता डा कोइरालाले मुलुकलाई आर्थिक रुपमा चलायमान गराउनका साथै सुशासन कायम गर्न सरकार संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्रीको छिमेकी मित्रराष्ट्र चीनको भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै भ्रमणबाट मुलुकलाई फाइदा पुग्ने विचारसमेत व्यक्त गरे ।
एक अर्को प्रसंगमा नेता डा कोइरालाले सरकारले संविधान संशोधनका सम्बन्धमा विभिन्न दलहरुसँग छलफल गरी निष्कर्षमा पुग्नुपर्ने धारणा राखे ।