१२ पुस २०८१, शुक्रबार

अन्तत: दीपक मनाङे डिल्लीबजार कारागार चलान


दीपक मनाङे

काठमाडौं । अन्तत: गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) कारागार चलान भएका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ पक्राउ परेका मनाङे डिल्लीबजार कारागार चलान भएका हुन् ।

आज मंगलबार काठमाडौंबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेस गरेपछि ज्यान मार्ने उद्योग गरेको मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

२०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले पाँच वर्ष कैद तोकेको थियो । उक्त फैसलालाई यही कार्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो ।

पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङ निर्वाचन क्षेत्र नम्बर–१ ‘ख’बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !