७ मंसिर २०८१, शुक्रबार

काठमाडौंबाट पक्राउ परेका मनाङेलाई अदालत लगियो


दीपक मनाङे

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । मनाङेलाई आज मंगलबार राजधानी काठमाडौंको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

सर्वोच्च अदालतले गत कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो । सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेसँग उनी पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । प्रहरीले आजै उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गर्न लगेको हो ।

उनलाई २०६० सालमा अर्का गुन्डा नाइके मिलन गुरुङ (चक्रे) हात छिनालेको अभियोगमा दोषी ठहर गरिएको थियो । मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरिएको हो ।

अदालतमा पेसपछि उनी कैद भुक्तानका निम्ति कारागार चलान हुनेछन् । पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङ निर्वाचन क्षेत्र नम्बर–१ ‘ख’बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !