८ आश्विन २०८१, मंगलबार

नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छ : उद्योगमन्त्री भण्डारी


दामोदर भण्डारी

गोदावरी, कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति रहेको बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले आज धनगढीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले देशको आर्थिक मेरुदण्डका रूपमा रहेको नीजि क्षेत्रले देश निर्माणमा महत्वपूर्ण भूमिका खेलेको र यसमा थप सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री भण्डारीले अर्थतन्त्रमा थप भूमिका खेल्ने गरी उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नु सरकारको दायित्व रहेको धारणा राखे । “देशमा सञ्चालित ठुला, मझौला र कुटिर उद्योगीलाई प्रोत्साहन नगरेसम्म रोजगारीका अवसर सिर्जना गर्न सकिँदैन । त्यसैले रोजगारीका अवसरसँगै आत्मनिर्भर बन्ने खालका उद्योगलाई प्रोत्साहन गर्न सरकार लागिपरेको छ”, उनले भने ।

सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी देशभर ४१ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको मन्त्री भण्डारीले जानकारी दिए । “चाडपर्वका बेला नागरिकले सहज र सहुलियत दरमा उपभोग्य सामान पाउन भन्ने उद्देश्यले सरकारले यस्ता पसल सञ्चालन गर्दै आएको छ । यसबाट लाभ लिन मेरो आग्रह छ”, उनको भनाइ थियो,“साथै चाडपर्वको मौका पारेर हुनसक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई तीब्रता दिइएको छ । उपभोक्ताको हकअधिकार सुनिश्चितताका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउन सुरक्षा निकायलगायत सरोकार भएका निकाय गम्भीर भएर लाग्नुपर्ने आवश्यकता छ ।”

मन्त्री भण्डारीले सुदूरपश्चिममा औद्योगिक क्रियाकलाप विकासका लागि सरकार प्रतिबद्ध रहेको र कञ्चनपुरको दैजीछेलामा औद्योगिक क्षेत्र स्थापनाको काम सोहीअनुसार अगाडि बढ्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु