काभ्रेपलाञ्चोक । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् ।
उनले काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई आज सम्बोधन गर्दै सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताए।
“दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाए अनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ”, देउवाले भने। उनले काँग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गरे। उनले भने “सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ ।” उनले दुई पार्टीबीच सहकार्य गरी काम पनि सोही अनुसार गर्नुपर्ने बताए ।
सभापति देउवाले ठट्यौली शैलीमा ‘काँग्रेसले कामै गर्दैनन्, गफ बढी गर्छन् भन्ने भन्ने भाष्यलाई चिर्दै धेरै काम गर्नुपर्ने बताए । “अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरूको मन जित्ने गरी काम गर्नुपर्दछ, प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीय स्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ । जनताको दुःख, पीर-मर्का बुझ्नुपर्दछ”, सभापति देउवाले भने।
सभापति देउवाले काँग्रेसलाई एक नम्बरको पार्टी बनाउने इच्छा र उद्देश्य रहेको बताए। “नम्बर वान पार्टी बन्नका लागि पनि जनताको काममा लाग्नुपर्यो, यसका लागि म सबै साथीहरूलाई पुनः आग्रह गर्दछु”, उनले भने । हालको यो संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको उनको तर्क थियो । “तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुपर्यो नि ! त्यसको निम्ति हामीले धेरै मेहनत गर्यौँ भने बहुमत प्राप्त गर्न सक्नेछौँ”, उनले थपे।
सभापति देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहोर्याए। उनले बिपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा बिपी राजमार्गको सुरुआत गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएको बताए। उनले भने, “यो ठूलो गौरवको विषय हो ।”
कार्यक्रममा काँग्रेसका पूर्वमहामन्त्री एवं बिपीपुत्र डा. शसांक कोइरालाले बिपी कोइरालालाई पुजेर मात्रै हैन उनको आदर्श र पदचाप बुझेर अघि बढ्नुपर्ने बताए। उनले भने “कांग्रेसीजनले बिपीको आदर्श बुझेर पदचाप पछ्याउनुपर्छ, प्रजातन्त्र प्राप्तिपछि धेरै उपलब्धी भएका छन्, यसको रक्षार्थ पनि लाग्नुपर्छ ।” उनले शैक्षिक, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा भएका उपलब्धिलाई विकास एवं प्रवर्द्धन गर्न आग्रह गरे।
पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइरालाको समाजवादको सिद्धान्त अनुसार अस्पतालमा दश प्रतिशत बेड छुट्याउन लगाई गरिब तथा निमुखा वर्गका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताए। केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले बिपी कोइराला कमकालीन राजनीतिमा ‘क्रान्तिकारी’ बहु आयामिक नेता भएको उल्लेख गर्दै उनले विचार आदर्श कहिल्यै नमर्ने धारणा राखे।
पार्टीका अर्का केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले महामानव बिपीको विचार आज पनि उत्तिकै महत्त्वपूर्ण रहेकाले लोकतन्त्र बलियो बनाउन उनको आदर्श पछ्याउनुपर्ने बताए । यस्तै पार्टीका केन्द्रीय सदस्य गणेश लामाले महासमितिको निर्णय अनुसार अबका निर्वाचनमा पार्टी एक्लै लड्नुपर्ने बताए। सो अवसरमा पार्टीको बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र वादे, काभ्रेपलाञ्चोक जिल्ला सभापति तीर्थ लामालगायतले महामानव बिपी कोइरालाको आदर्श विचार तथा योगदानबारे चर्चा गरेका थिए।