४ आश्विन २०८१, शुक्रबार

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त


अशोकराज सिग्देल

काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देललाई आज प्रधानसेनापति नियुक्त गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधानसेनापति पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापति पदमा नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते अवकाश पाउँदै छन् । सिग्देलले नेपाल र विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन् । शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट उनले ग्रयाजुएट गरेका छन् ।

उनले नेपालको आर्मी वार कलेजबाट ‘हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स’ र भारतबाट ‘डिफेन्स म्यानेजमेन्ट कोर्स’ पूरा गरेका छन् । उनले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यशाला र व्यावसायिक सेमिनारहरूमा पनि भाग लिएका छन् ।

सिग्देलले त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन् । नेपाली सेनामा ३७ वर्ष बिताइसकेका सिग्देलले विभिन्न पदमा रही स्वदेश तथा विदेशमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !