६ असार २०८१, बिहिबार

गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पाए विश्वासको मत


सुरेन्द्रराज पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । आज सोमबार बसेको प्रदेशसभा बैठकवाट उनले विश्वासको मत पाएका हुन् ।

माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् । प्रदेशसभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो ।

पाण्डेका पक्षमा ३१ सांसदले मत दिएकाले विश्वासको मत प्राप्त भएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे । एमालेका २२ र माओवादी ६ सहित २८ सांसदले पाण्डेले मागेको विश्वासको प्रस्तावका विपक्षमा मत हालेका छन् ।

राप्रपाका २, माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)को मत आफ्नो पक्षमा पार्दै मुख्यमन्त्री पाण्डेले बहुमत प्राप्त गरेका हुन् ।

यससँगै संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु