१३ पुस २०८१, शनिबार

मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा आज आइतबार अपराह्न भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।

प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताए।

प्रधानमन्त्री दाहालका साथ उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्ती पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् ।

प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए । उनी यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

एनडिएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपराह्न तेस्रो कार्यकालका लागि शपथग्रहण गर्ने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ।

प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालसँगै भारत सरकारले श्रीङ्काका राष्ट्रपति रनिल विक्रमासिङघे, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !