१२ आश्विन २०८१, शनिबार

पत्रकार गजेन्द्र बुढाथोकी र चिनियाँ राजदूतबीच सामाजिक संजाल ‘एक्स’मा जुहारी


चेन सोङ र गजेन्द्र बुढाथोकी

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र टक्सार मासिकका प्रधान सम्पादक तथा बरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीबीच जुहारी चलेको छ । पोखरा विमानस्थल निर्माणको लागि लिइएको ऋण सम्बन्धमा पत्रकार बुढाथोकी र चिनियाँ राजदूत सोङबीच सामाजिक संजाल ‘एक्स’ मा जुहारी चलेको हो ।

पोखरा विमानस्थल निर्माणमा सरकारले लिएको ऋणको बारेमा भ्रामक जानकारी लेखेको भन्दै पत्रकार बुढाथोकीले ‘एक्स’ मा गरेको एउटा पोष्टमा ‘रिप्लाइ’ गर्दै चिनियाँ राजदूत सोङले माफी माग्न भनेका छन् ।

पत्रकार बुढाथोकीले पोखरा विमानस्थल निर्माण गर्न सरकारले चीनसँग २ प्रशिशत मात्र व्याजदरमा ऋण लिएको भनिएकोमा उक्त व्याजदर ५ प्रतिशत उल्लेख भएको विषय एक्समा राखेपछि चिनियाँ राजदूतले आपत्ति प्रकट गरेका हुन् ।

सामाजिक सञ्जाल एक्समा बुढाथोकीले लेखेका छन्, ‘पोखरा विमानस्थलका लागि लिइएको ऋण २ प्रतिशत व्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ ।’

यो पोष्ट गरेको लगतै चिनिया राजदूत सङले प्रतिक्रिया दिदै लेखे, ‘यदि तिमीसँग दस्तावेज छ भने सार्वजनिक गर । होइन भने प्रमाण देखाऊ । यो कस्तो खालको नियत हो ? पहिला झुट फैलाउनुस्, त्यसपछि तरंग कम हुन पर्खनुस् अनि फेरि फैलाउनुस् ।’

सोङले आफूहरूले बुढाथोकी र उनले प्रतिनिधित्व गर्ने (व्यक्ति/संस्था) बाट पनि औपचारिक माफीको माग गरेको बताएका छन् । चिनियाँ राजदूत सोङ र पत्रकार बुढाथोकीबीच भएको यो जुहारीले सामाजिक संजाल एक्स तातेको छ ।

यता बुढाथोकीले भने ‘एक्स’मा भएको जवाफ/प्रतिजवाफमा आफूले प्रमाणसहित प्रकाशित गर्ने बताएका छन् । उनले आफूले म्यागेजिनमा प्रकाशित गर्ने पनि बताएका छन् । बुढाथोकीले आफूलाई धम्की नदिन र सीमामा बस्न राजदूतलाई सुझाव पनि दिएका छन् ।

यस विषयमा सामाजिक संजालमा दुबै पक्षमा समर्थन र विरोध देखिएका छन् । वादविवादमा अन्य नेपाली पत्रकार तथा सरोकारवालाहरू पनि मिसिएका छन् ।

कतिपयले त भारतीय वा अमेरिकी राजदूतले यस्तै गरेको भए के हुन्थ्यो भन्ने प्रश्न समेत गरेका छन् । यसरी उक्त विषयलाई लिएर सामाजिक संजाल ‘एक्स’ मा पत्रकार बुढाथोकी र राजदूत सोङबीच नोकझोक नै चलेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !