४ जेष्ठ २०८१, शुक्रबार

अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाउँछु : सभापति देउवा


deuva

४ असार, चितवन । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीलाई एक बनाएर लैजाने संकल्प पूरा गर्ने बताउनुभएको छ ।

नेपाल दलित संघ चितवनले आज यहाँ आयोजना गरेको प्रदेश नं ३ स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले पार्टीभित्रका अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाएर लैजाने बताउनुभएको हो ।

सभापति देउवाले पछिल्लो निर्वाचनमा अन्तर्घात धेरै भएका कारण सोचेजस्तो परिणाम आउन नसकेको उल्लेख गर्दै “छिनछिनमा विचार, मनस्थिति परिवर्तन गर्नेका कारण निर्वाचनमा हार व्यहोर्नु परेको हो भन्नुभयो ।”

“अब यस्ता अन्तर्घातीलाई कारबाही गरेर पार्टी एक बनाउने संकल्प लिएको छु,” उहाँले भन्नुभयो ।

सभापति देउवाले निर्वाचनमा हारको सम्पूर्ण जिम्मेवारी नेतृत्वलाई मात्र दिएर हुँदैन भन्दै हार के कारणले भया,े उम्मेदवारले भन्नुपर्ने बताउनुभयो ।

“आफू नेपाली काँग्रेसलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ हिँडेको छु,” उहाँले भन्नुभयो, “पार्टीभित्रका अन्तर्घातीलाई कारबाही गरी अन्तर्घातमुक्त पार्टी बनाउनुपर्छ, अनि मात्रै काँग्रेस पुरानो अवस्थामा फर्किन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले नेपालको इतिहासमा पहिलो पटक ठूला दुई वाम दल गठबन्धन गरेर र काँग्रेस एक्लै निर्वाचनमा होमिएको उल्लेख गर्दै तालमेल गर्दा पनि काँग्रेसका कार्यकर्ताहरुले भोट नहालेको बताउनुभयो ।

स्थानीय निर्वाचनमा तालमेल गर्दा मत हाल्न सकिदैन भनेर विरोध गर्ने अनि तालमेल नगर्दा सभापतिको कारण निर्वाचन हारियो भन्ने यो कस्तो कुरा उहाँले प्रश्न गर्नुभयो ।

काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीलाई कसरी एक ढिक्का बनाएर लैजाने भन्ने प्रश्न चिह्न खडा भएको बताउँदै “मलाई भगवान्ले बरदान माग भने पार्टीलाई एक ढिक्का वनाउन सकुँ भन्छु भन्नुभयो ।”

वाम एकतासँग प्रतिस्पर्धा गर्ने समयमा पार्टीभित्रको तिक्तताले समस्या उत्पन्न भएको उल्लेख गर्दै उहाँले अहिलेको समय पार्टीभित्र एकता भए मात्र वाम एकतासँग जुध्न सकिने धारणा व्यक्त गर्नुभयो ।

महामन्त्री डा कोइरालाले काँग्रेस एक भए कुनै शक्तिको तागतले भेट्न नसक्ने बताउँदै नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० एक हुँदा पनि एउटै विचार भएका व्यक्ति मिल्न नसक्नु दुःखद् भएको विचार व्यक्त गर्नुभयो ।

सहमहामन्त्री डा प्रकाशशरण महतले आन्तरिक मतभेदको अन्त्य गरेर पार्टीलाई विपक्षीसँग प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको बताउँदै कम्युनिष्टले राष्ट्रियतालाई सत्तामा जाने भ¥याङ मात्रै बनाएको आरोप लगाउनुभयो ।

काँग्रेसले सरकारको गलत कामको भण्डाफोर गर्ने समय आएको बताउँदै उहाँले कम्युनिष्टले भ्रमको राजनिति गरेर जनतालाई झुक्याउने काम गरेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा डिला संग्रौला, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, महिला संघकी अध्यक्ष उमा रेग्मी, नेपाल तरुण दलका अध्यक्ष जितजँग बस्नेतलगायतले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

दुई दिनसम्म चल्ने प्रशिक्षणमा प्रदेश नं ३ का काँग्रेसबाट वडा तहमा प्रतिनिधित्व गर्ने र चितवनका उपविजेता बनेकासहित २०० दलित सदस्यको सहभागिता रहेको आयोजक दलित संघ चितवनका अध्यक्ष शान्ति परियारले बताउनुभयो ।

प्रकाश अधिकारी, मीना खरेल, मुन्नाबिक्रम खातिले उनीहरुलाई स्थानीय तहमा निभाउनुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !