३ असार २०८१, सोमबार

रक्षामन्त्री उप्रेतीद्वारा पदबहाली : काठमाडौँ–तराई द्रुतमार्गलाई समयमै सक्न निर्देशन


हरिप्रसाद उप्रेती

काठमाडौँ । नवनियुक्त रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौँ–तराई द्रुतमार्गलाई समयमै सक्न मन्त्रालय र नेपाली सेनाका उच्चअधिकारीलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै मन्त्री उप्रेतीले नेपाली जनताको आशा र अपेक्षाको विषय रहेको उक्त आयोजनामा ढिलाइ भएको विषयमा आफू जानकार रहेको र अब निर्धारित समयमै सकाउन मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने बताए । उनले राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित र विकासमा मन्त्रालय तथा नेपाली सेनाले देखाउँदै आएको क्रियाशीलतालाई कायम राखी प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री उप्रेतीले नेपाली जनताको अगाध आस्था र विश्वासको धरोहर रहेको नेपाली सेनाको क्षमता विकासका काममा प्राथमिकता दिइने बताए । उनलाई मन्त्रालयका सचिव किरणराज शर्मा, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायत उच्च पदाधिकारीले स्वागत गरेका थिए ।

विसं २०३७ मा काठमाडौँको सरस्वती क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापति भएपछि राजनीतिमा होमिएका मन्त्री उप्रेतीको यस मन्त्रालयमा दोस्रो आगमन हो । विसं २०७० मा संविधानसभा सदस्यमा निर्वाचित उप्रेती गत निर्वाचनमा सर्लाही क्षेत्र नं–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी २०७९ सालमा डेढ महिना रक्षामन्त्री रहेका थिए । एमालेको केन्द्रीय स्थानीय तह विभागका सदस्य उप्रेती सो पार्टीको मधेस प्रदेश कमिटीको पूर्वसदस्य रहीसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !