१२ असार २०८१, बुधबार

सरकारप्रति आम नागरिकको धेरै गुनासो बढ्यो : महामन्त्री थापा


गगनकुमार थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताए ।

उनले भने, “सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुङ्गीसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो छ ।”

आम नागरिकका साना–साना मागसमेत पूरा हुन नसकेको जनगुनासो आफूले पाएको उनले बताए । महामन्त्री थापाले थपे, “जुन कुरा सरकारले गर्न सक्ने कुरा छन् । सामान्य हिसाबले गर्न सकिने कुरा पनि नगरेको देख्दा त्यसबाट नैराश्यता सिर्जना भएको छ ।”

स्रोत साधनको अभावले गर्दा गर्न नसकेको ठूला कुरा स्वाभाविक भएको भन्दै उनले अहिले सबै खालको अनुकूलता भएको समयमा गर्न सकिने काम पनि नभएकामा नागरिकले गुनासो गरेको उनले सुनाए ।

पूर्वाधार बनिसकेपछि लाभ लिने कुरामा हामी सबै चुकेको अनुभूति भएको उनको भनाइ थियो । उनले भने, “पूर्वाधार बनेको तर समयमा पूरा गर्न नसक्दा सिङ्गो नेपालभरिको ठेक्का प्रणालीको समस्या हुलाकी राजर्मामा देखियो । यस कारणले गर्दा लगानी भएपनि लाभ लिन नसकेको देखिन्छ ।”

देशभरका महासमिति सदस्य केही अनुभव वोकेर काठमाडौँ आउँदा महासमितिको बैठकमा यी बिषयमा छलफल हुने महामन्त्री थापाले बताए । निर्वाचन पछि गठवन्धन गर्दा राम्रो हुने भन्दै उनले निर्वाचन अघिको गठवन्धन उपयुक्त नहुने देखिएको टिप्पणी गरे ।

उनले भने, “त्यो आफैंमा गलत, संविधानको, लोकतन्त्रको भावनाविपरीत र सिङ्गो प्रणालीलाई विकृत वनायो ।” निर्वाचनपछि गठवन्धन वन्न सक्ने भन्दै उनले थपे, “कुनै पनि दलले बहुमत ल्याएन भने निर्वाचनपछि गठवन्धन वन्छ । निर्वाचनपछिको गठवन्धनमा पनि त्यसको निम्ति चाहिने संस्कृतिको हामीमा अभाव छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !