४ जेष्ठ २०८१, शुक्रबार

जनतालाई अधिकार माग गर्ने चेतना सङ्घीयताले दिएको हो : मुख्यमन्त्री जम्कट्टेल


शालिकराम जम्कट्टेल

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनतालाई ‘अधिकार माग गर्ने चेतना’ सङ्घीयताले दिएको बताएका छन् । आज हेटौँडामा आयोजना भएको ‘तहगत अधिकारको कार्यविस्तृतीकरण’ विषयक अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

सङ्घीयता कार्यान्वयनको सुरुआत राम्रो भएको बताउँदै उनले संविधानले दिएका तहगत अधिकार आउन बाँकी नै भएका कारण निराशा हुनुपर्ने अवस्था नरहेको बताए । उनले भने, “जनतामा शिक्षाको, स्वास्थ्यको, रोजगारको, विकासको चेतना सङ्घीयताले दिएको हो ।” सङ्घीयतासँगै जनतामा अधिकार प्राप्ति र विकासको चेतना जागेको उनको भनाइ छ । उनले तहगत अधिकारका लागि र अवस्थाअनुसारको अधिकारको मोडल निर्माण र कार्यान्वयनका लागि साथै प्रदेशका मुख्य न्यायाधिवक्ता, सचिव र स्थानीय महासङ्घको सहभागितामा छलफल कार्यक्रम राखिएको बताए ।

कार्यक्रममा गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जनताले तीन तहको सरकारको अनुभूति गर्न नसकेका कारण अधिकार बाँडफाँटसँगै अक्षरशः कार्यान्वयनमा तत्कालै लैजान आवश्यक रहेको बताइन् । उनले प्रदेश र स्थानीय तह एक भएर संविधानलाई कार्यान्वयनमा लैजाँदा विकास र उत्साहको मूल फुट्ने जनाउनुभयो । यसका साथै उनले सरकारलाई सिक्दैछु भन्ने छुट नभएकाले समन्वयको आवश्यकता रहेको बताइन् ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका नगरपालिका महासङ्घ नेपालका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले अब सरकारले प्राप्त अधिकार कार्यान्वयन गर्दा सङ्घीयताको मूल मर्म जोगिने बताए । सङ्घीयताले दिएको अधिकारको पूर्ण कार्यान्वयन हुँदा समृद्ध राज्य निर्माण हुने उहाँले जानकारी दिए । तीन तहको सरकार एकअर्कामा गुनासो गर्दै बस्दा त्यसको असर राज्यमा पर्ने भएकाले समन्वय गरेर तत्काल कार्यान्वयनमा लानुपर्ने उनको भनाइ छ । अबको तीन दिनको छलफलले तहगत अधिकार कार्यविस्तृतीकरणको विषय टुङ्गोमा पुग्ने कारण यसलाई महत्वका साथ हेरिएको ढुङ्गानाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !