५ मंसिर २०८१, बुधबार

रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्चले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो ।

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गरेको हो ।

संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद सजाय मिनाहा गरेका थिए । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । २०७२ असार २८ गते नेपालगञ्जमा रिगलले चेतन मानन्धरको हत्या गरेका थिए।

नेपालगञ्जका मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो । सर्वोच्चले रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।

सर्वोच्चले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको हो ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !