सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज आइतबार मतदान हुँदै छ । एमाले कर्णाली प्रदेशको निर्वाचन प्रक्रिया आज बिहान ८ बजेबाट सुरु हुने भएको छ ।
हिजो शनिबार बेलुकी ६ बजेबाट मतदान प्रक्रिया सुरु गर्ने भनिए पनि व्यवस्थापनको अभावका कारण मतदान प्रक्रिया अगाडि बढ्न नसकेपछि आज मात्र मतदान हुने भएको हो ।
एमाले कर्णाली अध्यक्षका निम्ति कालीकोटका मीनबहादुर शाही, कालीकोटकै प्रकाश रोकाया र सल्यानका गुलाबजंग शाह चुनावी मैदानमा छन् । अध्यक्ष पदका लागि पाँचजनाले उमेदवारी दर्ता गराएकामध्ये कर्णाली प्रदेशसभाका पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका थिए ।
कर्णालीमा अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि तीन, सचिव दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।
सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको छ । एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गर्नेछ ।