१६ असार २०८१, आइतबार

कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त


हिक्मत कार्की र पर्शुराम खापुङ फाइल फोटो

काठमाडौँ । कोशी प्रदेशका नयाँ मुख्यमन्त्रीमा नेकपा (एमाले) कोशी प्रदेशका संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । सर्वाेच्च अदालतको परमादेशपछि कार्की आज कोशी प्रदेशका नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

सर्वाेच्चको परमादेशपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । सर्वोच्चको परमादेश अनुसार प्रदेश प्रमुख खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई आजै शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

हिजो बिहीबार सर्वोच्च अदातलले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

कोशी प्रदेशमा आज ३ मन्त्री र १ राज्यमन्त्री सहित आजै मन्त्रिपरिषद विस्तार हुने भएको छ । मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वो, एकराज कार्की र पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गर्ने भएका छन् ।

एमाले स्रोतका अनुसार कार्कीले मुख्यमन्त्रीमा शपथ लिएसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री हुने भएका छन् । मेन्याङ्बोले यसअघि कार्की नेतृत्वमै यही मन्त्रालय सम्हालेका थिए ।

त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ लिने भएका छन् । त्यस्तै, भोजपुरबाट समानुपातिक सांसद सिर्जना राई सामाजिक विकास राज्यमन्त्री हुने भएकी छन् ।

सर्वोच्चका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि हिजो सो आदेश दिएको थियो । कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

सर्वोच्चले आदेशमा विभिन्न विकल्प प्रस्तुत गरेको संविधानको धारा १६८ को उपधारा ३ अनुसार नै जानुनै स्वस्थ संवैधानिक निकास हुने देखिएको आदेशमा उल्लेख गरिएको थियो । आदेशमा ४८ घण्टाभित्र ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न भनिएको थियो ।

यो पनि पढ्नुहोस्

कोशीका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !