१२ आश्विन २०८१, शनिबार

कोसी प्रदेश सरकारविरुद्धको रिट खतिवडा र माथेमाको इजलासमा


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतमा कोसी प्रदेश सरकारविरुद्ध दायर रिट आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको छ ।

गत भदौ ६ गते कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै कोसी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रहेका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरिएको रिट आज सर्वोच्चका न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा परेको हो ।

सर्वोच्चले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेको उल्लेख गर्दै अन्तरिम आदेश गरेको थियो ।

अदालतले विवादित विषयको छिटो, छरितोरूपमा निर्णय गर्न पूर्ण सुनुवाइका लागि आज भदौ १५ गते शुक्रबार पेशी तोकी अग्राधिकार दिएको थियो । रिट निवेदनमा यही भदौ ४ गते मुख्यमन्त्री थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको उल्लेख थियो ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएको हुँदा संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको माग रिट निवेदनमा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !