२१ पुस २०८१, आइतबार

भूमिसम्बन्धी समस्या समाधान सरकारकाे उच्च प्राथमिकतामा रहेको छ : मन्त्री श्रेष्ठ


रञ्जिता श्रेष्ठ

भजनी । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि क्रमबद्धरुपमा काम गर्दै आएकाे बताएकी छन् । उनले भनिन्,“ नागरिकको समस्या समाधान गर्न सरकारले काम गरिरहेको छ । विकासका लागि एकता सधैँ आवश्यक हुन्छ । ”

टीकापुर घटनामा ज्यान गुमाएका १८ महिनाका नाबालक स्व. टेकबहादुर साउँदको सालिक अनावरण गर्दै मन्त्री श्रेष्ठले टीकापुर घटनालाई लिएर बाहिर जे-जस्तो नकारात्मक प्रभाव पार्ने काम भए पनि टीकापुर शान्त रहेको बताएकी हुन् । विसं २०७२ भदौ ७ गते टीकापुर घटना भएको थियो ।

“टीकापुर घटना निकै पीडादायी र दुःखद् थियो । त्यस घटनाको जति निन्दा गरे पनि कम हुन्छ”, मन्त्री श्रेष्ठले भनिन्, “अहिले पनि त्यहीँ घटनालाई देखाएर राजनीति गर्नेका कारण शान्त टीकापुरको अशान्तको सन्देश बाहिर पुग्ने गरेको छ । टीकापुरमा अशान्ति छैन, शान्त छ ।”

टीकापुर घटना राजनीतिक उतारचढावका बीच घटेको घटना भएको जनाउँदै मन्त्री श्रेष्ठले टीकापुर क्षेत्रको सामाजिक सद्भाव स्थापनाका लागि सबैले सकारात्मकरुपमा प्रस्तुत हुन आग्रह गरेका छन् ।

मन्त्री श्रेष्ठले विकास र समृद्धिका लागि सबैले साझा योजनाका साथ सँगै हातेमालो गर्न आवश्यक रहेको बताइन् । “हिजो आफ्ना हक, अधिकार र पहिचानका लागि विभिन्न कालखण्डमा आन्दोलनहरु भए । त्यस्ता कयौँ आन्दोलनबाट प्राप्त उपलब्धिलाई सबै मिलेर संस्थागत गर्नुपर्छ”, मन्त्री श्रेष्ठ भने, “बेमेलले समाजलाई समृद्धि गर्न सकिँदैन । एकता र सद्भावले समृद्धि समाज निर्माण गर्न सकिन्छ ।”

राजनीतिक आस्था र विचार फरकफरक भए पनि सबैको उद्देश्य समृद्ध समाजको निर्माण गर्नु नै भएको भन्दै मन्त्री श्रेष्ठले विचारमा आग्रह पूर्वाग्रह भए पनि विकासमा एकता सधैँ आवश्यक हुने बताइन् ।

नेपालको संविधान जारी हुँदै गर्दा २०७२ भदौ ७ गते थारुहट-थारुवान छुट्टै राज्यको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रुप लिँदा आठ जना सुरक्षाकर्मीसहित नाबालकको ज्यान गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !