८ मंसिर २०८१, शनिबार

जसपाको चेतावनी : गौर हत्याकाण्डको छानबिन थाले सरकार छाड्छौ


उपेन्द्र यादव सपथ फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले सरकारले गौर हत्याकाण्डको छानबिन थाले सरकार छाड्ने चेतावनी दिएको छ ।

आज सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जसपाले आफूहरूलाई गौर हत्याकाण्डको विषय उठाएर निसाना गरिए सरकार नै छाड्ने चेतावनी दिएको हो ।

सत्ता गठबन्धनको बैठकपछि पत्रकारसंग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बैठकमा गौर हत्याकाण्डलाई लिएर आफूलाई निसाना बनाए सरकार छाड्ने चेतावनी दिएको बताए ।

१७ वर्षअघि २७ जनाको ज्यान जाने गरी भएको घटनामा जसपा (तत्कालीन मधेसी जनअधिकार फोरम) का अध्यक्ष उपेन्द्र यादवसमेत संलग्न रहेको आरोप लाग्दै आएको छ । जसपाले गौर हत्याकाण्डलाई छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

अध्यक्ष उपेन्द्र यादवलाई गौर हत्याकाण्डमा सरकारले फसाउन खोजेको आरोप लगाउँदै जसपाले यो घटनाकै उच्चस्तरीय छानबिन हुनुपर्ने बताएको हो । यादवलाई प्रहरीमा दर्ता भएको उजुरीका आधारमा गौर हत्याकाण्डमा मुछिँदै फसाउन षड्यन्त्र भइरहेको जसपाले बताएको हो ।

२०६३ चैत्र ७ गते मधेसी जनअधिकार फोरमले १२ दिन अगाडिको पूर्वनिर्धारित कार्यक्रमअनुसार गौरको राइस मिलमा शान्तिपूर्ण राजनीतिक सभा आयोजना गरेको थियो । तर, माओवादीको भ्रातृ संगठन मधेसी राष्ट्रिय मुक्ति मोर्चाका महासचिव प्रभु साहसहितको हठका कारण गौर घटना भएको जसपाले विज्ञप्ति निकाल्दै जनाएको छ ।

चैत्र ७ गते गौर घटनामा २७ जनाको मृत्यु भएको थियो । २०६३ माघ १ गते जारी अन्तरिम संविधान २०६३ मा असहमति जनाउँदै मधेसमा उपेन्द्र यादवले मधेस विद्रोह सुरु गरेका थिए । त्यसैअन्तर्गतको सभा गौरमा आयोजना गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !