२६ पुस २०८१, शुक्रबार

अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने माओवादीको निर्णय


अमनलाल मोदी

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने भएको छ । आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रका मन्त्रीसहित पदाधिकारीको बैठकले मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले माओवादीबाट मन्त्री भएकामध्ये मोदीलाई फिर्ता बोलाएका हुन् । जनमत पार्टीलाई सरकारमा समावेश गराउने गरी प्रधानमन्त्री प्रचण्डले माओवादीको भागमा रहेको एउटा मन्त्री हटाएका हुन् ।

यसअघि जनमत पार्टीले अनिताकुमारी साहलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार चितवनबाट फर्केलगत्तै बालुवाटारमा बैठक बसेको थियो ।

प्रधानमन्त्री प्रचण्डले आइतबार नै मन्त्रिपरिषद् हेरफेरको तयारी अघि बढाएका हुन् । जनमत पार्टी सरकारमा गएपछि ८ दलीय गठबन्धनले पूर्णता पाउने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !