७ मंसिर २०८१, शुक्रबार

गठबन्धनकै बहुमतको नयाँ सरकार गठनको लागि राजीनामा दिएको हुँ : बाबुराम गौतम


बाबुराम गौतम

विराटनगर । कोसी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । गौतमले गठबन्धनकै नयाँ सरकार गठनका लागि बहुमत जुटाउन पदबाट राजीनामा दिएको बताएका हुन् ।

उनले आज विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै गौतमले आफ्नो राजीनामा उपयुक्त नभए पनि गठबन्धनको आग्रहमा दिएको स्पष्ट पारेका छन् । उनले आफूले राजीनामा नदिने अडान राखेतापनि सिंगो गठबन्धनको आग्रह र अनुरोधपछि स्वीकार गरेर राजीनामा दिएको बताए ।

कोसी प्रदेशमा गठबन्धनको तर्फबाट निवर्तमान मुख्यमन्त्री उद्धव थापाले बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी गरेका छन् । कोसीको गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) ले सभामुख गौतमको राजीनामा गरेसंगै बहुमत दाबी गर्ने तयारी गरेका हुन् ।

राप्रपाको साथ नपाए पनि गठबन्धनले भने प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको १६ गते बेलुका ५ बजेसम्मको समयसीमाभित्र बहुमतसहित सरकार गठनको दाबी प्रस्तुत गर्ने तयारी गरेको हो ।

प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको १२, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसद संख्या आवश्यक पर्छ । सभामुखले राजीनामा दिएको खण्डमा भने दाबी प्रस्तुत गर्न बहुमत ४७ सांसद पुग्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !