२२ भाद्र २०८१, शनिबार

एमालेले प्रतिनिधिसभामा पनि माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा


रघुजी पन्त

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ । एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राजीनामा माग गरेको हो ।

आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुवातमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति स्वीकार गर्न नसकिने भन्दै राजीनामा मागेका हुन् ।

गत सोमबार प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो ।

सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् । उनले नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त नहुने भएकोले तत्काल राजीनामा गर्न आग्रह गरे ।

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने उनले बताए । एमालेको अवरोधपछि केही समयका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सांसद पन्तले ‘लेन्डुप दोर्जे’को नेपाली संस्करण नचाहिएको भन्दै राजीनामा माग गरे ।

यसअघि एमालेले आजै बसेको राष्ट्रियसभाको बैठकमा पनि प्रधानमन्त्री प्रचण्ड’को राजीनामा माग गरेको थियो । आजको राष्ट्रियसभा बैठकको सुरुवातमै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति स्वीकार गर्न नसकिने भन्दै राजीनामा मागेका थिए ।

यो पनि पढ्नुहोस्

एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !