३ असार २०८१, आइतबार

एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ । एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राजीनामा माग गरेको हो ।

आज बुधबार बसेको राष्ट्रियसभा बैठकको सुरुवातमै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति स्वीकार गर्न नसकिने भन्दै राजीनामा मागेका हुन् ।

गत सोमबार प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको हो ।

राष्ट्रियसभाका एमाले संसदीय दलका नेता दाहालले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् । एमालेको अवरोधपछि केही समयका लागि राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफको माग गर्दै एमाले सांसदले बैठक अवरुद्ध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ३ बजेर एक मिनेटमा पुनः बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

बैठकको सुरुमै एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरे ।

सो अभिव्यक्तिबारे सदनलाई जानकारी नगराएसम्म बैठक सञ्चालन हुने नसक्ने उल्लेख गर्दै उनले भने, “प्रधानमन्त्रीले भनेजस्तै हो भने, भारतको इसारामा बन्ने प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले जवाफ नदिएसम्म यो बैठक अवरुद्ध गर्छौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !