१३ पुस २०८१, शनिबार

ग्रेटर नेपालको नक्सा : बालेनले राखिसके, गगन भन्दैछन् राख्नुपर्छ


बालेन शाह, ग्रेटर नेपाल र गगन थापा

काठमाडौँ । ‘अखण्ड भारत’ भन्दै नयाँ भारतीय संसदको भित्तेचित्रमा नेपालको भू-भाग लुम्बिनी र कपिलवस्तु समावेश गरेर नक्सा जारी गरेपछि नेपालले पनि ‘ग्रेटर नेपाल’ काे नक्सा जारी गर्नुपर्छ भन्ने आवाज जोडदार रुपमा उठ्न थालेको छ ।

भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को भित्तेचित्रमा नेपालको लुम्बिनी र कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्र समेटिएको छ । राजनीतिक विश्लेषकहरुले ‘अखण्ड भारत’ को विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानीकारक कूटनीतिक विवाद निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको यो कदमले उसका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना रहेको संकेत समेत गरेका छन् ।

नेपालको भूमि कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भूमि जस्तै गरी अंकित गरेपछि भट्टराईले चासो व्यक्त गर्दै आपत्ति प्रकट गरेका हुन् । नेपाल र भारतका प्रधानमन्त्रीलाई ट्विटरमा मेन्सन गर्दै उनले भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुने बताएका छन् ।

ग्रेटर नेपालको नक्सा बारेमा गगन थापा बोल्दैछन्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो ‘ग्रेटर नेपाल’ जारी गरी हक खोज्नुपर्ने बताएका छन् । आज बिराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि ग्रेटर नेपालकाे नक्सा जारी गर्नुपर्ने बताए ।

थापाले भारतको संसद भवनमा राखिएको नक्सा सांस्कृतिक मात्र मान्न हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा सहजतापूर्वक स्वीकार गर्नुपर्ने बताएका हुन् । उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पारे ।

उनले भूपरिवेष्ठित देश भएकाले बंगलादेशसम्म बाटो पाउनु पनि नेपालको अधिकार भएको बताउँदै भोलि सीमा विवादबारे छलफल गर्दै जाँदा समयले कहाँ पुर्याउँछ भनेर अनुमान गर्ने र त्यसका आधारमा पोजिसन बनाउन जरुरी नभएको उनले बताए ।

ग्रेटर नेपालको नक्सा बालेनले राखिसके

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा आज राखेका छन् । शाह भारत भ्रमणमै रहेका बेला सचिवालयलाई आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएका थिए ।

मेयर शाह यतिबेला भारत भ्रमणमा छन् । ग्रेटर नेपालको नक्सामा पूर्वमा टिष्टा र पश्चिममा काँगडासहितको भूभाग ग्रेटर नेपालभित्र राखिएको छ । यद्यपि शाहको सचिवालयले यसलाई सांस्कृतिक नक्सा भनेको छ ।

यसअघि उनको कार्यकक्षमा रहेको नेपालको थ्रिडी नक्सालाई हटाएर महानगरपालिकाले मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो । भारतले आफ्नो संसद् भवनमा सांस्कृतिक नक्सा भन्दै नेपाली भू-भाग समेटिएको ‘अखण्ड भारत’ को नक्सा राखेपछि त्यसले नेपालमा तरंग सिर्जना गरेको हो ।

नेपाली राजनीतिमा यूवाको नेतृत्व

नेपाली राजनीतिका पुराना पुस्ताका नेताहरुबाट वाक्कदिक्क भएका आम नेपाली जनताले नयाँ यूवा नेतृत्वको अपेक्षा राखेको धेरै भइसक्यो । तर विस्तारै माहोल पनि यसतर्फ बन्दै गइरहेको आभास हुँदै छ ।

जव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा यूवा पुस्ताकै प्रतिनिधित्व गर्ने राजेन्द्र लिङ्देन अध्यक्ष बने, त्यसपछि अन्य पार्टीमा पनि यसको असर देखिन थाल्यो । २०७८ साल मंसीर १९ गते आइतबार कमल थापालाई पराजित गर्दै राप्रपाको अध्यक्षमा लिङदेन निर्वाचित भएका थिए ।

लामो समयसम्म राप्रपामा एकछत्र राज आएका थापालाई अध्यक्षमा पराजित गरेर लिङ्देन नेपाली राजनीतिको चर्चामा आउनुको साथै यूवाहरुको आशा र भरोसाको केही हदसम्म केन्द्रविन्दु बने । उनको यो राजनीतिक सफलतालाई नेपाली राजनीतिमा दोस्रो पुस्ता नेतृत्वमा पुगेको ‘प्याराडाइम सिफ्ट’ नै मान्न सकिन्छ ।

२०७८ साल पुस १ गते बिहीबार गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भए । राप्रपाको त्यो साइड इफेक्टले काँग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मा जस्ता दुई यूवा हस्ती महामन्त्री बन्न अवश्य केही भूमिका खेल्यो ।

यस्तै २०७९ साल जेठ १२ गते काठमाडौं महानगरको मेयरमा बालेन्द्र (बालेन) शाह निर्वाचित भए । शाहले आफ्नी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई फराकिलो मतान्तरले हराएर विजयी भएका थिए । यसरी लिङ्देनले राप्रपामा नेतृत्वको अवसर पाएपछि आम नेपाल यूवाहरु पनि यूवा उम्मेदवारकै पक्षमा देखिएका छन् ।

बालेन एक्सनमा, गगन रियाक्सनमै सीमित

भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को नक्सा राखेको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेर भारतलाई चुनौती दिएका छन् ।

काठमाडौँमा मेयर शाहले केवल कुरा भन्दा काम नै गरेर देखाएका छन् । मेयर भइसकेपछि उनले यसअघि पनि धेरै काम गरेर देखाइ सकेका छन् । बालेन अहिले एक्सनमा उत्रिएको देखिन्छ भने गगन रियाक्सनमै मात्र सीमित भएको देखिएको छ ।

तर उनी पार्टीको नेतृत्वमा पुग्न त बाँकी छ तर उनले आम जनताले देखिने गरी देश र जनताको लागि काम गर्न जरुरी छ, नकी खाली सस्तो लोकप्रियताको लागि सामाजिक संजालमा लेखेर र बोलेर मात्र हुँदैन ।

ग्रेटर नेपालको नक्साको बहसका सन्दर्भमा बालेन गगन भन्दा एक कदम अघि देखिएका छन् । गगनले पनि आफ्नै घरमा अनि काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपा र पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा राखिसकेपछि मात्र नक्सा जारी गर्ने र संसदमा राख्नेतिर लाग्ने की गगन जी ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !