४ जेष्ठ २०८१, शुक्रबार

भारत जानुअघि प्रधानमन्त्री प्रचण्डद्वारा चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा

काठमाडौँ । दक्षिणतिरको मित्रराष्ट्र भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्तरको अर्को छिमेकी मित्रराष्ट्र चीनका उच्च अधिकारीसँग आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बुधबार बिहान भारत भ्रमणमा निस्कनु केही घण्टा अघि चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता गर्नुलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोली हिजो राती मात्रै सिंगापुर एयरलाइन्सबाट काठमाडौँ आइपुगेको थियो । आज बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेको हो ।

भेटमा नेपाल-चीनबीचको पारस्परिक सम्मान र आपसी हितका आधारमा द्विपक्षीय सहयोग र दुई पार्टीबीचको सम्बन्धको विषयमा कुराकानी भएको छ । स्रोतका अनुसार भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङले प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणको निम्तो दिएका छन् ।

उनीहरुले प्रधानमन्त्रीसहित सरकारी अधिकारी र व्यापारिक निकायसँग पनि छलफल गर्ने बताइएको छ । पुस १० गते एमालेको नेतृत्वमा बनेको गठबन्धनबाट प्रधानमन्त्री बनेका दाहाल चैतको १४ देखि १७ सम्म चीनको बेइजिङबाट ‘बोआओ फोरम फर एसिया’का लागि निम्तो आएपछि जाने तयारी गरेपनि कांग्रेस-माओवादीको नयाँ गठबन्धन बनेपछि अन्तिममा चीन नजाने सन्देश पठाएका थिए ।

सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिसभा बैठकमा चिनियाँ राजदूतकै कारण बोआओ फोरममा सहभागी नभएको बताएपछि लगत्तै चिनियाँ राजदूत छन् सोङले भेटेर सदनमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीसँग आपत्ति जनाएका थिए ।

नेपाललाई एकतर्फी रुपमा आफ्नो प्रभावको छत्रछायाँमा राख्न चाहने भारतको कुटनीतिक रणनीतिलाई मनोवैज्ञानिक रुपमा कम गराउन प्रधानमन्त्री प्रचण्डले भारतलाई दिएको कुटनीतिक दवावलाई राजनीतिक विश्लेषकले सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।

पृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा ‘नेपाल दुई ढुंगाको तरुल’ भनेका थिए । दुई ठुला छिमेकी वीचमा रहेको स्वत्रन्त्र राष्ट्र नेपालले कहिले दक्षिणतिर र कहिले उत्तरतिर ढल्कने अस्थिर कुटनीतिक सम्वन्ध नराखी आफ्नो लाभ र हानीलाई ख्याल गरेर दुवै छिमेकी मित्रराष्ट्रसँग पारस्परिक रुपमा समदूरीको सम्वन्ध राख्न जरुरी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !