६ जेष्ठ २०८१, आइतबार

एमालेले अवरोध गरेपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलि मात्र बस्ने


एमालेद्वारा प्रतिनिधिसभाको बैठक अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलि मात्र बस्ने भएको छ । २० मिनेटका लागि भनेर स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आजै साँझ ६ बजे बस्ने भनिएपनि बस्दै नबसी भोलि ४ बजे सम्मका लागि बैठक सारिएको हो ।

संघीय संसद्द्वारा जारी सूचनामा भनिएको छ, “६ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिबार दिनको ४ बजे बस्ने निर्धारण गर्नुभएको छ ।”

प्रतिनिधिसभाको आजको बैठक एमालेले अवरुद्ध गरेपछि अपराह्न १२ः४५ बजे २० मिनेटका लागि स्थगित गरिएको थियो । सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी विशेष कारणवश बैठक बस्ने समय परिवर्तन भएको जनाएको थियो ।

आजै बसेको सुरुको बैठकमा एमालेका सांसदहरूले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।

बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथको जलहरीमा सुनको सट्टा पित्तल लगाइएको र भ्रष्टाचार भएको भनी हो नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसबारे सरकारको स्पष्ट जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताएका थिए ।

सभामुख घिमिरेले आसनग्रहण गर्न पटक-पटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरूले रोष्ट्रम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए । करिब पाँच मिनेटको नाराबाजीपछि पनि सभामुखको आग्रह सुनुवाइ नभएपछि उनले बैठक २० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

आजको बैठकमा नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने तयारी गरिएको थियो । बैठक स्थगित गरेर सभामुख घिमिरेले सहमतिको प्रयास गरेपनि सहमति जुट्न नसकेपछि भोलि ४ बजेका लागि बैठक सारेका हुन् ।

यो पनि पढ्नुहोस्

पशुपतिनाथमा सुन भनेर पित्तलको जलरी हालेको ओलीमाथि आरोप लगाएपछि एमालेद्वारा संसद अवरोध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !