१२ बैशाख २०८१, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि अदालतमा बयान सुरु हुँदै


बालकृष्ण खाँण र टोपबहादुर रायमाझी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजदेखि अदालतमा बयान सुरु हुँदै छ । उक्त प्रकरणमा प्रतिवादी बनाइएका तथा पक्राउ परेकाहरूको आजदेखि अदालतमा न्यायाधीशसमक्ष बयान सुरु हुन लागेको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको आरोपमा विभिन्न पाँचवटा कसुरमा ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा १६ जना पक्राउ परेका छन् भने १४ जना अझै फरार रहेका छन् ।

उनीविरुद्ध ठगी, राज्यविरुद्ध कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको हो । अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

बुधबार दर्ता भएको मुद्दमा आजदेखि पक्राउ परेका प्रतिवादीहरूको न्यायाधीशको अगाडि बयान हुनेछ । बयान सकिएपछि मात्र थुनछेकको बहस सुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउनेछ ।

शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एमाले)का निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्वित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !