२ कार्तिक २०८१, शुक्रबार

ढाकाकुमारको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, कंसाकारलाई शपथको बाटो खुल्यो


ढाकाकुमार श्रेष्ठ र विन्दबासिनी कंसाकार

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । रास्वपाले सांसद पदबाट निलम्बन गर्ने निर्णयविरुद्ध सर्वोच्च पुगेका श्रेष्ठको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

श्रेष्ठको सांसद पदसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले यस अघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।

यसअघि सर्वोच्चले बैशाख २५ गते सोमबार रास्वपाका निलम्बित सांसद श्रेष्ठलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ घुस प्रकरणमा जोडिएका श्रेष्ठको पद गत वैशाख १२ गतेदेखि खाली भएको थियो । रास्वपाले गरेको परिपत्र अनुसार सभामुख देवराज घिमिरेले संसद बैठकमा श्रेष्ठको सांसद पद खाली भएको सूचना पढेर सुनाएका थिए ।

ढाकाको पद गएपछि रास्वपाबाट आदिवासी जनजाति क्लस्टरको सूचीमा दोस्रो नम्बरमा रहेकी विन्दबासिनी कंसाकार सांसद बनाएको थियो । निर्वाचन आयोगले बिन्दावासिनीलाई सांसदको प्रमाणपत्र पनि दिएको थियो । तर, सर्वोच्चको आदेशसँगै उनले शपथ लिन पाएको थिइनन् । अब भने उनलाई सांसद बन्ने बाटो खुलेको हो ।

यो पनि पढ्नुहोस्

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश : ढाकाकुमारको सांसद पद तत्काल नजाने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !