८ बैशाख २०८१, शनिबार

ठुला माछा पक्राउ पर्न थालेपछि प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता बाक्लियो


प्रचण्ड, देउवा र ओली

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वर्तमान प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्रीद्वय देउवा र ओलीबीच छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताए पनि छलफलको विषय भने खुलाइएको छैन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला माछा पक्राउ पर्न थालेपछि प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता बाक्लिनुलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

सत्ता, राजनीतिक भागबण्डा, संसदीय सुनुवाइ समितिमा भागबण्डामा कुरा नमिल्दा अरु बेला पानी बाराबारको जस्तो सम्वन्ध रहेको नाटक गर्दै आएका शीर्ष नेताहरु देशमा भ्रष्टाचारविरुद्ध आन्दोलन बढ्दै जाँदा एक हुँदै आएका छन् । बाहिर भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता भनेर माला जप्ने तर भित्रभित्रै आफूनिकट नेताहरुलाई भ्रष्टाचारका मुद्धामा संरक्षण गर्दै आएका यी नेताहरुको अहिले सातोपुत्लो गएको छ ।

हुनपनि लहरो ताल्दा कतै पहरो नै त खस्ने होइन भनेर यिनीहरु भयभित भएका छन् । नागरिक समाजमा अगुवाहरु सडकमा ओर्लिसकेका छन् । अमेरिका लगायत अन्तर्राष्ट्रिय समुदायले यो प्रकरणलाई चासोका साथ हेरिरहेका छन् । संवैधानिक परिषद्को नियुक्तिका लागि ओलीलाई तर्साउन खोज्दा प्रचण्ड नै खाडलमा पर्ने सम्भावना बढ्दै गएको छ ।

यसअघि पनि पटक-पटक तीन दलका यी तीन शीर्ष नेतृत्वबीच भेटवार्ता हुँदै आएको छ । कतै यी तीन दलका तीन शीर्ष नेताहरु मिलेर यो प्रकरणलाई मिलाएर यत्तिकै सामसुम पार्ने प्रयास त हुने होइन भनेर आम नेपाली नागरिकमा आशंका पैदा भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका काँग्रेसका नेता बालकृष्ण खाण लगायत १२ जना पक्राउ परिसकेका छन् भने पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !