९ आश्विन २०८१, बुधबार

पूर्वगृहमन्त्री खाँणलाई *तीन दिन हिरासतमा राख्न अदालतको अनुमति


बालकृष्ण खाण

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई *तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री खाँणलाई *तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

आज बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उत्तम सिलवालको एकल इजलासले खाँणलाई *तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँको रकम ठगी गरेको घटनामा जोडिएपछि आजै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । खाणलाई आज बिहान काठमाडौंको चावहिलको मैजुबहालस्थित निजी निवासबाट पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा लगिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा खाँणसँग ५ घण्टा लामो बयान लिएपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेर म्याद थपका लागि काठमाडौँ अदालत पुर्याएको थियो । खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज पक्राउ परेका खाँण र केसीको हकमा तीन दिन र अन्यको हकमा चार दिन म्याद थपको सिफारिससहित अदालतमा पेश गरिएको थियो । अदालतबाट माग भएबमोजिम नै म्याद थप भएको छ ।

उक्त घटनामा अहिलेसम्म प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । यसअघि हिजो मङ्गलबार काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसअघि प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ । सचिव पाण्डेलाई हाल निलम्बन गरिएको छ ।

उक्त घटनामा मुछिएका नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । उनलाई एमालेले आजै सचिवबाट निलम्बन पनि गरिसकेको छ ।

उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् ।

*तीन दिन हिरासतमा राख्न अदालतको अनुमति हुनुपर्नेमा यसअघि चारदिन भएकाले सच्याइएको छ – प्रधान-सम्पादक

यो पनि पढ्नुहोस्

एक्सनमा उत्रिए गृहमन्त्री श्रेष्ठ : भ्रष्टाचारीलाई नछाड्ने उद्घोष

शीर्ष नेताहरुको बैठकमा गृहमन्त्री श्रेष्ठ पनि मिसिए

नक्कली भुटानी शरणार्थी प्रकरण : मुछिएका सवैलाई पक्राउ गर्न गृहमन्त्रीको आदेश

पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

पूर्वगृहमन्त्री खाणलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइयो

पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव केसीसहित पक्राउ पर्नेको संख्या १२ पुग्यो

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !